विश्व

भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख नाघ्यो



एजेन्सी, १५ मंसिर । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा चौबीस घण्टामा थप ३८ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएसगै कोरोना संक्रमितको संख्या ९४ लाख नाघेको मन्त्रालयले जानकारी दिएको हो ।  हाल भारतमा ९४ लाख ३१ हजार ६९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार  ६०० व्यक्ति संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ४६ हजार ९५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २३ औं दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १३९ पुगेको छ । भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ३ लाख ७९ हजार नमूना परीक्षण गरेको जनाएको छ ।  हिजो एकै दिनमा ८ लाख ७६ हजार १७३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको समाचारमा जनाइएको छ ।