राजनीति

सांसद बस्नेतद्वारा शान्ति भैरब आधारभुत विद्यालयको भवन शिलान्यास



भक्तपुर, १७ मंसिर । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं.९ नंखेल स्थित शान्ति भैरब आधारभुत विद्यालयको पक्की भवन शिलान्यास गरिएको छ ।

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरद्वारा ८३ लाख ७० हजारको लागतमा बन्न लागेको उक्त विद्यालयको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त विद्यालयको शिलान्यास गर्नुभएको हो । उक्त विद्यालय चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

४ कोठे भवन तथा व्यवस्थित शौचालय सहितको भवन निर्माणको सिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले २०७२ सालको महाभुकम्पका कारण जिल्लामा क्षती पुगेका विद्यालयको पुनःनिर्माणका कार्यहरु अन्तिम चरणमा रहेको बताउनुभयो ।

‘भक्तपुरमा सामुदायीक विद्यालयका भवनहरु अब कच्ची रहने छैनन्’ उहाँले भन्नुभयो, ‘सामुदायीक विद्यालयका भवनहरु कच्ची नभएको जिल्लाको रुपमा अब घोषणा गर्ने चरणमा पुगेको छ । जुन नेपालकै सवैभन्दा पहिलो र उदाहरणीय हुनेछ ।’

सामुदायीक विद्यालयका भवनहरु व्यवस्थित भइरहेको समयमा विद्यालयमा विद्यार्थीका संख्या कम भइरहेको विद्यालय मर्जको आवश्यकता रहेको औंल्याउनुभयो । सामुदायीक विद्यायलय र नीजि विद्यालयबीचको समेत सहकार्य र एकताका आधारमा अगाडी वढी शैक्षिक गुणस्तरियतालाई विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै उहाँले जिल्लामा शिक्षाले ठूलो फड्को मारेको बताउनुभयो ।

शिक्षा क्षेत्रको जिम्मेवारी स्थानीय तहलाई नै रहेको उल्लेख गर्दै उहाँले कोभिड–१९ का कारण बन्द भएका विद्यालयहरु व्यवस्थित तथा प्रभावकारी योजना बनाई तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । ‘स्थानीय तहले व्यवस्थित मापदण्ड बनाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘विद्यार्थीको भविष्यलाई उज्वल बनाउने दिशामा अगाडी बढ्नुपर्छ ।’

वडा नं. ८ का वडाध्यक्ष किरण थापाले नेपालमा नै नमुनायोग्य रुपमा सूर्यविनायक नगरपालिकाले सामुदायीक विद्यालयको सञ्चालक समितिको जिम्मा समेत जनप्रतिनिधिहरुले नै रहेकाले विद्यार्थीको माग, चाहना र आवश्यकता अनुसारको कामलाई तिव्रता दिइरहेको बताउनुभयो । आधारभुत तहका कर्मचारीलाई नगरपालिकाले विशेष प्राथमिकतामा राखी दुई हजारका दरले पारिश्रमिक समेत थप गरिदिएको जानकारी गराउँदै उहाँले केही दिनमा नै विशेष मापदण्ड बनाई कोरोनाको संक्रमणको जोखिमका कारण बन्द भएका विद्यालयहरु सञ्चालन हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा आयोजना प्रमुख भरत श्रेष्ठले गुणस्तरिय तथा दिर्घकालिन रुपमा काम गर्नुपर्नेमा जोड दिँदै निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो ।