काठमाडौँ, २० मंसिर । भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहमाथि खाना खाँदै गर्दा गोली प्रहार भयो । गोली लागेर ढलेका उनी अस्पताल पु-याउनेबित्तिकै मृत घोषित भए । गाउँमा विभिन्न विषयमा छलफल हुँदा उनी फरक मत राख्थे, नाजायज कामको विरोध गर्थे । सोही क्रममा देवाही गोनाही नगरपालिका–१ करुनियाका ३६ वर्षीय रामनरेश राउत पटेलसँग उनको सामान्य विवाद भएको थियो । रामनरेशका बुवाले पुजारीसँग केही रकम ब्याजमा लिएका थिए । उक्त रकमलाई लिएर पनि विवाद उत्पन्न भएको थियो ।
लेनदेनको विषयमा भएको सामान्य विवादमा नरेशले आफूसँग भएको अवैध हतियार पुजारीमाथि प्रहार गरे । त्यसपछि फरार रामनरेशलाई आफ्ना सहयोगीसहित प्रहरीले पक्राउ गरी नलकटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको थियो ।
कात्तिक २६ गते रौतहटको माधवनारायण नगरपालिका–७ की १७ वर्षीया अमृताकुमारी साहमाथि पेस्तोल प्रहार भयो । साहमाथि गोली हानेर फरार भएका आरेपितहरूलाई प्रहरीले पक्राउ गरी कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको थियो । त्यस्तै असोज २९ गते पर्साको ठोरी गाउँपालिकाको विजय बस्तीस्थित ओरिया खोलाको बगरमा बन्दुकधारी समूहले प्रहरीलाई ताकेर गोली चलाए । प्रहरीले सावधानी अपनाएका कारण मानवीय क्षति हुन पाएन । अवैध भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउन्ड गोली र एक थान खुकुरीसहित प्रहरीले चारजनालाई पक्राउ गरेका थिए ।
ससाना विवाद, रिसइबीदेखि छलफल क्रममा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन । अवैध हतियारको बिगबिगीका कारण कोर मधेस (प्रदेश २) मा हत्याहिंसाका घटना बढ्दो छ । सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा कटुवादेखि ‘स्वचालित’ पेस्तोलसम्म प्रयोग भएको पाइन्छ ।
प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन्। खुला सीमाका कारण वारिपारिको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्