समाचार

जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते



डोटी, २१ मंसिर । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-७ पिउसिया भिरमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

गएराति जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको जीप दुर्घटना हुदा बोगटन फुड्सिल गाउँपालिका-७ का वडा सचिव मञ्जुा त्रिपाठी, उनकी सासु करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका-४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्टको मृत्यु भएको हो ।

यसैगरी दुर्घटनामा परि घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका-६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका-१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका-७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, त्यही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

जीप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलबाट घाइतेको उद्धार तथा मृतकको शव सङ्कलनको कार्य जारी रहेको घटनास्थलमा खटिएका प्रहरीले जनाएको छ ।