काठमाडौँ, २१ मंसिर । बुटवलमा प्रहरीको पेस्तोल खोसेर गैंडाको खाग तस्करले गोली चलाएको छ । तस्करले चलाएको गोली लागेर एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आइतबार बिहान बुटवल उपमहानरगरपालिकास्थित चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । तस्करको गोली लागेका घाइतेको पहिचान भइसकेको छैन । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइतेको चिउँडोमा गोली लागेको छ ।
प्रहरीका अनुसार तस्करले चलाएको गोली लागेर तस्कर समूहकै एकजना घाइते भएको र पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेको जनाइएको छ । प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार भएका छन् ।होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा प्रहरी टोली होटलमा पुगेको थियो । प्रहरी आएको सूचना पाउनेबित्तिकै तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली चलाएको हो ।










प्रतिक्रिया दिनुहोस्