समाचार

थप ७ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ, २५ मंसिर । पोखरामा ४ जना, सुनसरी, झापा, मोरङका एकरएकजना र दैलेखका एकजना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहीबार बिहान सवा ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

अन्य दुईजनाको भने बुधबार उपचारका क्रममा पोखरामै मृत्यु भएको हो । पोखरा महानगरपालिका-१३ का ५१ वर्षीय पुरुषको बुधबार बिहान साढे ५ बजेतिर फिस्टेल अस्पताल र वडानम्बर ७ का ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ बजे मृत्यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण प्रदेश १ मा थप तीनजनाको मृत्यु भएको छ । सुनसरी, झापा र मोरङका एकरएकजना कोरोना स‌क्रमितको मृत्यु भएको हो । दुई जनाको उपचारका क्रममा अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । २३ मंसिरमा कोरोना पोजेटिभ देखिएका वृद्धको बिहीबार बिहान मृत्यु भएको हो ।झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पुर्याउँदै गर्दा मत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । थप उपचारका लागि बुधबार बेलुका कोसी कोभिडमा लगिएको थियो । कोसीमा पुगे लगत्तै उनको मृत्यु भएको थियो । अक्सिजनको मात्र कम भएका वृद्धलाई नोबेलमा अक्सिजन लगाएर राखिएको थियो । कोसी कोभिडमा एम्बुलेन्सबाट उतारेर भर्ना गर्न ढिलो गरेका कारण मृत्यु भएको आफन्तले बताए । वृद्धलाई मधुमेह, उच्च रक्तपाचको समस्या थियो ।

मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका वृद्धलाई दमको समस्या बढेपछि आफन्तले विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते भर्ना गरेका थिए । २२ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई घरमै लगिएको थियो ।

यता दैलेखका एकजना कोरोना संक्रमित पुरुषको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ । गुराँस गाउँपालिका- ५ का ८७ वर्षीय पुरुषको वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंसिर १५ गते कोभिड-१९ अस्पतालमा भर्ना भएका उनको सोही दिन नै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । बिहीबारदेखि उनको रगतमा चिनीको मात्रा उच्च भएपछि इन्सुलिनबाट उपचार सुरु गरिए पनि अवस्था जटिल बन्दै गएपछि बिहीबार बिहान ८ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

वृद्धको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।