समाचार

३८ तोला सुनसहित ५ जना पक्राउ



काठमाडौँ, २९ मंसिर । ३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका-१ का २३ वर्षका राम तामाङ, धुलिखेल-७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल-१ का १८ वर्षका राजन तामाङ रहेका छन् ।

माइली तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले खोजी गर्दा उक्त टोलीलाई काठमाडौंको ड्रागन डिस्कोमा फेला पारेको थियो । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी परसर काठमाडौंले जानकारी दिएको छ ।

प्रहरीले ओखलढुंगाका देवराज दाहालबाट २३७ ग्राम र रामचन्द्र चालिसेको साथबाट २१० ग्राम सुनका गहना बरामद गरेको छ ।