राजनीति

काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने



काठमाडौँ, १ पौष । काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् ।

काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो ।

छलफलमा सहभागी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौंमा कोभिड नियन्त्रणमा आएको अवस्था नरहेको बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसम समेत रहेको भन्दै यस्तो बेलामा अनलाइन कक्षाहरुलाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताए ।

यो बीचको अवधिमा अनलाइन कक्षालाई प्रभावकारी बनाउन उपयुक्त हुने देखिने बताइएको छ  ।स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रमान श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पुस महिनामै करिब ५० हजारको एन्टिजेन टेष्ट गर्ने तयारी गरेको भन्दै त्यसको अवस्था हेरेर मात्रै अघि बढ्न सुझाव दिए ।