काठमाडौँ, ७ पौष । नेपालमा दुई ठूला परियोजना सञ्चालन गर्न सरकारले विश्व बैंकसँग रू. ९ अर्ब ५० करोड ऋण सम्झौता गरेको छ । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर बराबरको उक्त सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित समारोहमा ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभयो ।
आयोजनाको मुख्य लक्ष्य ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवद्र्धन गर्दै कोभिड–१९ पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने रहेको मन्त्रालयले जनाएको छ । यो आयोजना प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन गरिनेछ ।
यस्तै प्रदेश र स्थानीय सरकार, मध्यस्थकर्ता संस्था तथा साना र मझौला कृषि उद्यमीसँग सहकार्य गर्दै कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्न र उद्यमशीलता र पर्या–प्रणालीको सुदृढीकरणमा खर्च गरिनेछ । त्यसैगरी ग्रामीण उत्पादक समूह र निजी क्षेत्रका क्रेताबीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै रोजगारीको सिर्जना गरिने भएको छ ।










प्रतिक्रिया दिनुहोस्