काठमाडौँ, ९ पौष । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु भएको छ । कोरोनाको कारण सुरुङमार्ग निर्माणको काममा प्रभाव परेकोमा हिजो मंगलबारदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
कोरोनाको महामारीमा पनि सडक, खोला डाईभर्सन, बिस्फोट गर्नेलगायत विभिन्न तयारीको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुरुङमार्ग खन्ने काम भने मंगलबारबाट औपचारिक रुपमा सुरु भएको उहाँले जानकारी दिनुभयो । अबदेखि सुरुङमार्ग खन्ने काम नरोकिने गरी काम हुने विभागका उपमहानिर्देशक थापाले बताउनुभयो । हाल सुरुङमार्गमा दुई सय ९० जना नेपाली र २५ जना जापानी प्राविधिक टोलीले काम गरिरहेका छन् ।
कोरोनाको कारण जापानी प्राविधिक टोली यसअघि आफ्नो घर फर्किएको भए तापनि हाल उहाँहरु नेपाल आइसकेकाले काममा कुनै बाधा नपुग्ने उहाँले बताउनुभयो । पूर्वनिर्धारित कार्यक्रम अनुसार मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९, जग्गाको मुआब्जा विवादलगायतका कारण पूर्वनिर्धारित समयमै सुरु हुन सकेको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गर्नुभएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्