समाचार

नक्कली कागजपत्र तयार गरेको अभियोगमा ६ जना पक्राउ



धनुषा, १७ पौष । नक्कली कागजपत्र तयार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा जनकपुर उपमहानगरपालिका-८ स्थित विभिन्न ठाउँबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार घर भई हाल मोरङ बिराटनगर उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा नगरपालिका-९ बस्ने २१ वर्षीय आदित्य यादव, जलेश्वर नगरपालिका-२ बस्ने ३४ वर्षीय कुनाल चौधरी, धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय चन्दन प्रसाद साह, सोही उपमहानगरपालिका-२ बस्ने ५० वर्षीय राम चन्द्र साह र बिदेह नगरपालिका-३ बस्ने २३ वर्षीय चन्दिर राय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-८ स्थित होटल सिटीमा नक्कली छाप, प्रमाणपत्र तथा लोगो लगायत अन्य बिभिन्न कार्यालयको छाप सहित समिरलाई फेला पारी थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।