राजनीति

राजनीतिक दलहरुकै कारण कोरोना जोखिम



काठमाडौँ, २३ पौष । कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन । तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ । सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन् ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, र्‍याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन् । ‘पहिलो चरणमा लकडाउन र चाडपर्वमा भएका गतिविधिले संक्रमण बढायो’, डा.मरासिनी भन्छन्, ‘दोस्रो चरणमा राजनीतिक दलका गतिविधि र चुनावी माहोलले संक्रमण व्यापक रूपमा बढ्ने सम्भावना छ ।’

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सहरी क्षेत्र हुँदै गाउँ–गाउँसम्म प्रदर्शनको कार्यक्रम तय गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको विपक्षी कांग्रेसले पनि वडासम्म जाने कार्यक्रम बनाइसकेको छ । नेकपाको केपी शर्मा ओली पक्षधरले पनि भेलालगायत राजनीतिक कार्यक्रम अघि सारेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले पनि विरोध प्रदर्शनलगायत कार्यक्रम गरिरहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।