Banner News

बालुवाटारमा राजनीति मात्रै हुँदैन, मानवीय जीवनका काम पनि हुन्छ: राधिका शाक्य



भक्तपुर, २५ पौष । विश्व सम्पदा सूचीमा रहेको प्राचिन एवं सम्पदा नगरी भक्तपुर दरबारस्क्वायरमा शुक्रबार अलिक फरक दृश्य देखिन्थ्यो । दरबारस्क्वायरको लामपाटी फल्चामा बसेर कोही कलाकार सुनको ढोकासहितको पचपन्न झ्याले दरबार कागजमा उतार्दै थिए ।

कोही अलिक पर अन्य सम्पदाका दृश्यहरु कागजमा उतारेर रंग भर्दै थिए भने कोही साहित्यकार सम्पदाको छेडोमा टुसुक्क बसेर भक्तपुरलाई शब्दमा उतार्दै बिम्व भर्दै थिए ।

यही क्रममा दरबारस्क्वायरको गेटबाट भित्र पस्दै नेपालकी प्रथम महिला अर्थात प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको आँखा टेकोमा अडिएको भक्तपुरको राष्ट्रिय कला संग्रहालय लगायतका सम्पदामा अड्कियो ।

उहाँले सोध्नुभयो, “भूकम्पले भत्किएका यहाँका सम्पदा अझै पुर्ननिर्माण भएका छैनन् ?” यहाँका सम्पदा अवलोकन गर्ने क्रममा उहाँले फेरी भन्नुभयो, “यहाँ धेरै भग्नावशेष अझै बाँकी रैछन्, यो ढुङ्गेधारा पनि भूकम्प कै कारण सुकेका होलान त ?” पत्रकारद्धय बालकृष्ण बस्नेत र रमेश गिरीले उहाँको जिज्ञासा मेटाउन भक्तपुरको भूकम्प पछिको अबस्थाकोबारे जानकारी गराउनुभयो ।

विगत दुई वर्षदेखि निरन्तर रुपमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले अभियान सञ्चालन गर्दै आएका कला, साहित्य र रंगमञ्चमा सक्रियहरुको एउटै साझा मञ्च ‘जेसुम यात्राको १३ औ श्रृंखला’ लाई साथ दिन भक्तपुर पुग्नु भएका नेपालकी प्रथम महिला शाक्यको नजर चित्र उतार्दै गरेका कलाकारको कूचीँमा पनि पर्यो ।

त्यसपछिको औपचारिक कार्यक्रममा बोल्दै उहाँले कोरोना संक्रमणमा पनि बाहिर बढेको भीड देखेर चिन्ता व्यक्त गर्दै सुरक्षित भएर जनजीवन अगाडि बढाउनु पर्नेमा जोड दिनुुभयो । विगतमा प्रधानमन्त्री निवास बालुवाटार मै जेसुम यात्रा सञ्चालन गर्ने भनिए पनि राजनीतिक उताब चढाब कारण रोकिए पनि अब यात्राको एक श्रृंखला बालुवाटारमै गरिने बताउनुभयो ।

बालुवाटार राजनीतिक केन्द्र मात्रै नभई, मानवीय जीवन, साहित्यिक, सामाजिक गतिबिधी पनि हुने गरेको बताउँदै शाक्यले भन्नुभयो, “बालुवाटार भित्र पनि हामी जिवन्त बाटोमा हिडिरहेका छौं, हामी दुई समाजका हरेक पक्षसंग घुलमिल हुँदै समाजका विभिन्न पक्षसंगको भेटघाट गरिरहन्छौं ।”

भूमिगतकालमा आफूले पनि राजनीति गरेकाले यसमा के सही, के गलत पहिल्याउने गरेको बताउँदै उहाँले अब आफू कहिल्य राजनीति भने नगर्ने बताउनु भयो । आफ्नो ३३ वर्षको जागिरे जीवनमा पनि कुनै राजनीति नगरेको भन्दै उहाँले राजनीति गर्ने व्यक्ति सही भएन भने अरु केही सही हुदैन भन्ने सबैले बुझ्नु पर्ने उहाँले औल्याउनुभयो ।

आफूले सानैदेखि सामाजिक भावना बोकेको बताउँदै शाक्यले भन्नुभयो, “म सानैदेखि गरिब, दुःखीलाई देख्दा जे सक्थेँ, त्यो सहयोग गर्थे, मलाई गरिबी के हो, गरिबलाई अगाडि बढ्न कति गाह्रो हुन्छ, भन्ने थाहा छ, त्यसैले केही गर्छु भन्नेलाई सहयोग गर्न मन लाग्छ, कोही नभएकालाई सहयोग गर्न मन लाग्छ ।” आफू आत्मनिर्भर भएको प्रंसङ्ग कोट्याउदै उहाँले महिला आत्मनिर्भर नभई समाज अगाडि बढ्दैन, महिला आत्मनिर्भर हुनु पर्छ भन्नुभयो ।

कार्यक्रममा जेसुम यात्राका संयोजक अनिता तामाङ्गले साहित्य, नाट्य र चित्रकला विद्या समेटिएको यो अभियान समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, समाजलाई जिम्मेवार बन्न अभिप्रेरित गर्ने, समान रुपमा एउटै बाटो हिडाउन यात्रा निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।

त्यसअवसरमा अभियन्ताहरु स्नेह सायमी, बालकृष्ण बस्नेत, अनिता तामाङ्ग, फूलमान वल, गणेश बुढा, मनोहरी थापा, अनन्त वाग्ले, रोजिता बुद्धाचार्य, अस्मिता मानन्धर, देउराली चाम्लिङ्ग, दिपेन्द्र लामा, सन्तोष तामाङ्ग, जगत तामाङ्गले भक्तपुरको कला, संस्कृतिलाई समेटेर त्यहीँ रचना गरेको कविता तथा गीत वाचन गर्नुभयो ।

त्यस्तै चित्रकार दिपेन्द्र बनेपाली, चन्द्रा श्रेष्ठ, राजेन्द्र याकामी, लक्ष्मीप्रसाद खोतेजा, राधेश्याम कर्माचार्य, पूण्यराम मतां, कान्छाकाजी भासिमाले दरबारस्क्यारमा आजै दुईघण्टा लगाएर तयार पारेको चित्रको प्रर्दशन गर्दै कलालाई जिवन्त राख्ने यात्रा जारी रहेको बताउनुभयो । अभियन्ताहरुले भक्तपुरको बिभिन्न सम्पदाहरुको अवलोकन गर्नुभएको थियो ।