काठमाडौँ, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने भन्नेबित्तिकै धेरैको सातो गएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले अब चुनाव घोषणा भएको र मैदानमा आउन सबै दललाई आग्रह गरेका छन् । उनले भने , “रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?”
प्रधानमन्त्री ओलीले सरकारलाई काम नै गर्न नदिइको जिकिर गरेका छन । उनले भने, “सरकारलाई काम नै गर्न दिइएन, प्रतिनिधिसभाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नुपर्ने थियो । नेपाली जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो । त्यो हुन सकेन । ६(६ महिनामा सरकार फेरिने अवस्था सिर्जना गर्न खोजियो,” प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा मात्रै २८० वटा बैठक बसेको र यो अवस्था आइलागेको बताए । उनले मुलुक निर्वाचनतर्फ अघि बढेको पनि बताए ।
प्रधानमन्त्री ओलीले संसद्मा रहेको बहुमतलाई खण्डित गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । उनले प्रतिनिधिसभा नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकल बहुमतलाई खण्डित गर्ने षड्यन्त्र सुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।
‘‘मैले धेरै प्रयास गरें, भरसक पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो, सरकार परिवर्तन भइरहने अवस्थालाई स्थायित्व र स्थिरता भनिँदैन,’’ ओलीले भने, ‘‘तर केही पनि काम हुन दिइएन । गत असारदेखि पुस ४ गतेसम्म सरकारलाई कमजोर पार्ने मात्र २८० वटा बैठक भएछन् ।’’
देशलाई अस्थिरतामा लान आफ्नै पार्टीबाट अनेक प्रश्न उठाइएको भन्दै त्यस्तो किन गर्नुपर्यो भन्दै प्रश्न गरे । ‘‘सरकारले विकास निर्माणका काम तीव्र गतिमा अघि बढाएको थियो । इँटामा लेउ लागेर बसेका रानीपोखरी निर्माण सम्पन्न भयो, सात लाख घर निर्माण गरेर हस्तान्तरण भए, धेरै काम भएको कुरा साथीहरुले अनुभव गर्नुभएको छ,’’ ओलीले भने, ‘‘धरहरा, काठमाडौं उपत्यकाको ब्युटीफिकेसन भएको छ, तराईमा ढलको व्यवस्था भएको छ, धेरै काम भएका छन् । गत आर्थिक विर्षमा मात्र करिव ६ हजार हेक्टर क्षेत्रमा सिँचाइ भएको छ ।’’










प्रतिक्रिया दिनुहोस्