राजनीति

आयोगले माधव नेपाललाई बनायो ‘विजोग’, मनको बह कसैलाई नकह



काठमाडौँ, १२ माघ । सम्पादकहरूसँगको छलफलका क्रममा नेकपा नेता माधवकुमार नेपालले भनेका थिए,‘मनको बह कसलाई कह! भन्ने अवस्थामा पुग्यौं, ओलीका कारण अनेक हण्डर खायौं । ओलीबाट धेरै पीडा र दुःख पायौँ । बिजोगै पारे नि ।’

आफू आधिकारिक अध्यक्ष भएको दाबी गरेका उनले भनेका थिए,‘पेलान र हेपाहा प्रवृतिबाट मुक्ति पाइने आशा थियो तर एकतापछि फेरि विधि मिचियो, हामीलाई पेलियो, हेपियो दुःख दिनुसम्म दिइयो।’ तर आइतबार नेकपा विवादको निरुपणका क्रममा ओलीले नभई निर्वाचन आयोगले माधव नेपालको बिजोग बनाएको छ। पार्टीको अध्यक्षमा केन्द्रीय समितिको बहुमतको आएको दाबी गरेका नेपाल अमान्य रहने आयोगको ठहर भयो ।

नेकपाका एक नेता भन्छन्,‘माधव जी निर्वाचन आयोगले नै पो बिजोग बनायो त, अब मनको बह कसैलाई नकह, बरु एकता प्रक्रियाबाट अगाडि बढ्न सुझाव दिन्छु।’ आयोगले नेकपा २०८० सालसम्म विभाजन हुन नसक्ने ठहर गरेपछि नेपालको अध्यक्ष बन्ने सपना केही दिनका लागि मात्र पूरा भएको छ। आयोगले आधिकारिकता नदिएपछि अब प्रचण्ड समूहले उनलाई कुन पदीय हैसियतमा सम्बोधन गर्ला भन्ने चासो र चिन्ता रहेको छ ।

आइतबारै बसेको उक्त समूहको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेगरी निस्काशन गरेको छ। तर त्यसलाई आधिकारिक मान्न नसकिने आयोगको निर्णयको आधारमा तय हुन्छ । ‘नेपालले पदकै लागि प्रधानमन्त्री ओलीलाई पेल्न प्रचण्डसँगको गुटमा रमाएका हुन्। यसको खुलासा उनले कतिपय अन्तरवार्तामा गरेका छन्’, एक नेता भन्छन्,‘प्रचण्डसँग मिलेपछि नै ओलीलाई तह लगाउन सकिन्छ भन्ने लागेर पार्टी एकता गरेको भन्ने उनको भाषाको आशय त्यहि हो।’ यहि नियत राखेका कारण अहिलेको अवस्था आएको त उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पनि बताइसकेका छन्। तर यस्तो नियत राख्नेको राजनीतिक अवस्था बलियो नहुने, पद लोलुपताको पराकाष्ट स्पष्ट देखिने पोखरेलले बताएका थिए । दैनिकनेपाल