Banner News

आफू हारे पनि देशलाई हार्न दिन्न : प्रधानमन्त्री ओली



दाङ, १२ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू हारे पनि देशलाई हार्न नदिने बताउनुभएको छ ।

नेकपा ओली समूहले दाङमा गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले केहीले पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै आफूले पार्टी विभाजन गर्न नदिएको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले केही मानिसहरु चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेको तर निर्वाचन आयोगले खत्तम पारिदिएको बताउनुभयो ।

प्रचण्ड माधव समूहले आफूलाई साधारण सदस्यबाट निस्कासन गरेको भन्दै उहाँले भन्नुभयो, ‘हाँस्न मन लागेन तपाईंहरुलाई । जसले राजनीतिक गर्न सिकायो, उनीहरुले नै केपी ओलीलाई निकाल्ने अरे ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउन नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ठीक ढंगका प्रतिनिधि छानेनौं भने संसद त झाँकी जस्तो हुन्छ, संसदलाई जनताको साँचो प्रतिनिधिको थलो बनाउनुपर्छ ।’

चुनाव हुन्छ भन्नेमा आशंका नगर्न र प्रचार प्रसारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । प्रहरी प्रशासन र प्रशासनलाई पनि स्वतन्त्र, निष्पक्ष र धांधलीरहित चुनावको तयारी गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘कसैले चुनाव हुँदैन, ओलीले चुनाव गर्दैन भनेका छन् भन्न दिनुस्,’ उहाँले भन्नुभयो, ‘भनेकै दिन चुनाव हुन्छ हामीले शानदार सफलता हासिल गर्छौं । हामीलाई प्रहरी प्रशासनको वैशाखी टेक्नु परेको छैन, कार्यकर्ताको बलमा चुनाव जित्छौं ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपालले आफूलाई पृथ्वीमै नहोस भन्ने चाहेको टिप्पणी गर्नुभएको छ ।