समाचार

चोरीमा संलग्नसहित तीनजना पक्राउ



झापा, १६ माघ । इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार रहेका छन् । उनका साथबाट प्रहरीले एक लाख ४८ हजार ६६५ रुपैयाँ र एक हजार ५०० भारुसमेत बरामद गरेको छ ।

अर्जुनधारा–५, लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना पसलबाट पैसा चोरी गरेका आरोपमा प्रहरीले दनुवारलाई पक्राउ गरेको हो । गए राति उनले पसलबाट पैसा चोरी गरेको र सीसीटीभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, किसनगन्ज, धनतोला पञ्चायत–१, महमारी खरुवानटोल थाना दिगल बैंक निवासी २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेह रहेका छन् । झापा गाउँपालिका–४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस