समाचार

आजको मौसम



काठमाडौँ, २० माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश  १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपाको सम्भावना रहेको छ ।

यस्तै आज राति प्रदेश ७ र अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपाको सम्भावना रहेको छ । यसैबीच, आज र भोलि मौसमी प्रणालीमा उल्लेख्य परिवर्तनको सम्भावना नदेखिए पनि विहीबारबाट भने बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको आज विहानको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ भने मौसम सफा रहनेछ । तराईका जिल्लामा अहिले बाक्लो हुस्सु लागेको छ । तराईका भू–भागमा  हुस्सु र कुहिरो लागेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।