Banner News

जग्गा धनीपूर्जा वितरणमा तलमाथि भए कारबाही हुन्छ: मन्त्री डा. तुम्बाहाङ्फे



काठमाडौँ, २४ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौँमा शनिबार निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिनुभयो । मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरुले निश्चित अधिकारमात्रै दिइएको छ । ऐन विपरीत जानुभयो भने कानूनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ । पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईंहरुलाई प्रभावित बनाउने समूह आउँछ । यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।’