Banner News

हामी अहिले लडाईं लड्ने होइन, पुर्खाले लडाईं गरेको ठाउँको संरक्षण गर्ने हो : प्रम ओली



काठमाडौँ, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको चर्चा गर्दा नेपाल जोगाउनेहरूको योगदानलाई पनि बिर्सिनु नहुने बताएका छन् ।

नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको चर्चा गर्दा नेपाल जोगाउनेहरूको योगदानलाई पनि बिर्सिनु नहुने बताएका छन् ।

उनले भने, ‘हामीले अहिले लडाईं लड्नु छैन, केवल पुर्खाले लडाईं गरेको ठाउँको संरक्षण गर्ने हो । यो लडाईं लड्नेजस्तो कठिन काम होइन, ‘आज हामीले जति प्रशंसा गरे पनि कम हुन्छ । हाम्रा पुर्खाले त किल्ला बनाउँदै लड्दै गरे । कति गाह्रो भयो होला । आजको जस्तो गाडीमा जान पाइन्थ्यो र ? आज निरीक्षणमा जाँदा म हेलिकोप्टरमा जान्छु, गाडीमा जान्छु । हाम्रा पुर्वजले त ज्यान जोखिममा राखेर नदि तर्नुपर्‍थ्यो । रासन कहाँबाट ल्याए ? लत्ताकपडा कसरी बोके ? कहाँ खाए ? कपडा कहाँ फेरे ? कसरी लडे होलान् ?’

प्रधानमन्त्री ओलीले अमरसिंह थापाले ७४ वर्षमा तरवार लिएर मैदानमा लडेको समेत चर्चा गरे ।उनले भने, ‘हाम्रो इतिहासका महान देशभक्त हुन् भिमसेन थापा । उनी मात्र होइन, उनका छोरा नातिले पनि योगदान दिएका छन् । उजिरसिंहले बुटवलमा किल्ला सम्हालेर अंग्रेजलाई नलखेटेको भए नेपाल जोगाउन गाह्रो हुन्थ्यो । बुटबलमा हारेको भए भिमसेन थापाले सम्हालेको मोर्चा पाल्पामा आक्रमण हुन्थ्यो । पाल्पा टिकाउन गाह्रो हुन्थ्यो ।’ उनले थपे, ‘त्यसैले, पृथ्वीनारायण शाह मात्र होइन, अमरसिंह, वलभद्र, भिमसेन, भक्ति थापा लगायतका सेनापतिहरु पनि उत्तिकै स्मरणीय छन् । कालु पाँडे, दामोदर पाँडेहरु सेनापति भएर पनि तरवार बोकेर आफैं लडाईंका मोर्चामा थिए । उनीहरू आदेश दिने पोजिसनमा थिए । तर, सैनिकहरुलाई आदेश दिएर लडाईमा पठाउने अनि आफू घर बस्ने गरेनन् । ‘आउ सेना’ हो भने, ‘जाउ सेना’ भनेनन् ।’