काठमाडौँ, २९ माघ । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा हुनुभएको छ ।
महानगरीय अपराध महाशाखाले उहाँलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिनुभयो । श्रीमान पशुपति पुरीको रोहवरमा उहाँलाई छाडिएको प्रहरीले जनाएको छ ।
सोधपुछको क्रममा उहाँले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताउनुभएको थियो । ‘संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहनेछ । यो चाहिँ नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेकी हुँ । अरू केही गरेको होइन’ झाँक्रीको बयान उदृत गर्दै एसएसपी थापाले भन्नुभयो । ‘बयानपछि हामीले उहाँलाई राखिराख्ने कुरा भएन । मुद्दा चलाउनु पर्ने आवश्यकता रहेन त्यही भएर हामीले छोड्यौ’ उहाँले भन्नुभयो ।
प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो । झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्