काठमाडौँ, ३० माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा मनाईने विभिन्न प्रकारका धर्म तथा संस्कृतिले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउने उल्लेख गर्दै धार्मिक एवं सांस्कृतिक चाडपर्वको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको बताउनुभएको छ ।
सोनाम ल्होसार र ग्याल्बो ल्होसारका अवसरमा देशविदेशमा रहनुभएका तामाङ, शेर्पा, हिमाली आदिवासी दिदीबहिनी तथा दाजुभाई र आम नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धिको कामना गर्दै उपराष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्पष्ट पार्नुभयो । हिमाल, पहाड, तराई–मधेशको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व हाम्रो गौरव भएको उहाँको भनाइ छ ।
नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा योगदान पु¥याउनुका साथै सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा उपराष्ट्रपतिले गर्नुभएको छ ।
काठमाडौँ उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, भेषभुषासहितको पहिचान छ । उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “तामाङ सेलो गीत, टुङ्ना र डम्फुको सङ्गीत आज नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको छ । हिमाली भेग आदिम थलो भएका शेर्पा समुदाय भाषा, धर्म, संस्कृति, पम्परा तथा सभ्यतामा धनी समुदाय हो ।”










प्रतिक्रिया दिनुहोस्