बुटवल, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य देव गुरुङले विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनर्स्थापना नगरे आन्दोलनको बलमा पुनस्र्थापना गर्ने धम्की दिनुभएको छ ।
शुक्रबार बुटवलमा पत्रकारहरुसँग बोल्दै नेता गुरुङले सर्वोच्च अदालतले विघटनलाई बदर गरेमा स्वतः सुचारु हुने र नभए आन्दोलनको बलमा पुनर्स्थापना हुने बताउनुभयो । विघटित प्रतिनिधि सभालाई सञ्चालन गर्न सकिने आधार आफ्नो गुटमा रहेको उल्लेख गर्दै नेता गुरुङले २०५९ सालमा राजा ज्ञानेन्द्रले विघटन गरेको संसद आन्दोलनको बल र राजनीतिक सहमतिमा २०६३ मा सञ्चालन भएजस्तै अहिले पनि सुचारु गर्न सकिने बताउनुभयो ।
सर्वोच्चबाट विघटन बदर नभए अहिलेको आन्दोलन जनबिद्रोहमा परिणत हुनसक्ने धम्की दिँदै नेता गुरुङले भन्नुभयो, ‘प्रधानमन्त्री र राष्ट्रपतिले निर्णय गर्दैमा प्रतिनिधि सभा विघटन हुन सक्दैन’ गुरुङले भने, ‘यो कदमको विरोधमा सबैजसो दल, नागरिक, समाज र मिडिया उभिएका छन् । त्यसैले सर्वोच्चले संविधान अनुसार पुनर्स्थापना गर्छ भन्ने विश्वास छ, नभए आन्दोलनले गर्छ ।’










प्रतिक्रिया दिनुहोस्