काठमाडौँ, ७ फागुन । प्रतिनिधिसभा (संसद) विघटनविरुद्धको मुद्दामा आज एमिकस क्युरीका अन्तिम सदस्यले बहस गर्दैछन् ।
रिट निवेदकका वकिल र सरकारी पक्षका वकिलको बहस तथा जवाफी बहस सकिएपछि गत मंगलबारदेखि एमिकस क्युरीको बहस सुरु भएको थियो । बिहीबारसम्म पाँचमध्ये चार जना एमिकस क्युरीको बहस सकिएको र बाँकी एक जनाको पनि शुक्रबार सकिने जनाइएको छ । त्यसपछि सर्वोच्च अदालतले फैसलाको निर्णय गर्नेछ । सर्वोच्चको पाँच सदस्यीय संवैधानिक इजलासले शुक्रबार नै आफ्नो फैसला सुनाउन सक्छ या आइतबारका लागि थाती राख्न पनि सक्छ ।
एक महिनादेखि जारी निरन्तर सुनुवाइमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता गीता संग्रौला पाठकले आज शुक्रबार बहस गर्नेछिन् । यसअघि एमिकस क्युरीका चार सदस्यले आफ्नो राय इजलाससामु दिइसकेका छन् ।
बिहीबार एमिकस क्युरीका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस गरेका थिए । उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा शर्त पालना नभएको र संविधानलाई छलिएको भन्दै उक्त कार्य गैरसंवैधानिक भएको बताए । त्यसअघिका दुई वरिष्ठ अधिवक्ताहरु सतिसकृष्ण खरेल र बद्रीबहादुर कार्कीले पनि संसद विघटन असंवैधानिक रहेकाले अदालतले पुनर्स्थापना गर्नुपर्ने राय दिएका थिए । तर अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीमा संसद विघटनको अधिकार रहेकोले रिट निवेदन खारेज हुनुपर्ने तर्क गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्