समाचार

राष्ट्रपतिबाट कैदीबन्दीको कैद सजाय मिनाहा



काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिनुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा उहाँले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो । यस्तै राष्ट्रपतिले आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका सुदीप लिम्बूसमेत १७९  कैदीको भुक्तान हुन बाँकी कैद छुट दिनुभएको छ ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो । यसैगरी सुरेन्द्र भनिने सालिन्द्र यादवसमेतका १५ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।