राजनीति

कांग्रेसको ‘च्याँखे’



काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रूपमा विभाजित नेकपाको ‘मझधार’ मा उभिएको छ ।

नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रूपमा देखिएको छ । भलै अहिले ‘पर्ख र हेर’ को नीति अवलम्बन गरेको कांग्रेस सत्तामा जान चाहेको विश्लेषण भइरहेको छ । कांग्रेसले नेकपा औपचारिक रूपमा विभाजित भएपछि मात्रै नीतिगत निर्णय गरेर अघि बढ्ने मनसाय बोकेको छ । कांग्रेसले नेकपाको औपचारिक विभाजन पर्खनुलाई सत्ताको नेतृत्वका लागि थापेको ‘च्याँखे’ का रूपमा पनि अथ्र्याइएको छ ।

सांगठनिक रूपमा कमजोर कांग्रेसका लागि ‘सत्ता वा संगठन’ निर्माण गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । कांग्रेसले आफ्नो भूमिका सत्ताभन्दा संगठनमा केन्द्रित गर्नसके भविष्य राम्रो बन्नेछ । अहिले सत्ताभन्दा महाधिवेशनलाई लक्षित गरी कांग्रेस अघि बढ्नुपर्ने सुझाव जिल्ला तहका नेताहरूको छ ।

‘अहिले कांग्रेसले सरकारमा जान हतारो गर्नु हुँदैन,’ कांग्रेस दाङका पूर्वसभापति वीरकेशरी गौतम भन्छन्, ‘कांग्रेसले अहिले सत्ताभन्दा पनि संगठन बनाउनु जरुरी छ ।’ कांग्रेसको सांगठनिक संरचना सन्तोषजनक देखिन्न । जिल्लामा पहिलो संविधानसभा निर्वाचनयता पाएको मतको आकडाले पनि कांग्रेसको सांगठनिक अवस्थाको चित्र प्रस्टै देखाइदिन्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।