काठमाडौँ, १७ फागुन । आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो । मार्च १ तारिखदेखि तीन महिना प्रि-मनसुनको सिजन हुनेछ । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ ।
प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । यस्तै, यो सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ । प्रि-मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ । सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।यसैबीच, आज विहान १०.४ डिग्री सेल्सियस तापक्रम रहेको काठमाडौंका दिउँसो २७–२९ डिग्री सेल्सियससम्म पग्ने छ ।










प्रतिक्रिया दिनुहोस्