राजनीति

दाहाल–नेपाल समूह कांग्रेससँग सशंकित



काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो । तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस दाहाल–नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर दाहाल–नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ ।

संसद् बैठक सुरु हुनु चार दिनअघि बुधबार दाहाल–नेपाल समूहले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो । सो समूहले बुधबार केन्द्रीय कमिटी बैठक राखेर नयाँ सरकार गठन गर्ने विषयमा सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय भएको हो ।

त्यसै अनुसार कांग्रेससँग सरकारको नेतृत्व गर्न प्रस्ताव राखिएको थियो । दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि खुला छलफल गर्ने बताउनु र देउवाले पनि प्रधानमन्त्रीको अफर आए सरकारको नेतृत्व गर्ने बताएपछि दुवै पक्षबीच सरकार गठनमा सहकार्य गर्ने सहमति बनेको बुझ्न सकिन्थ्यो । बिहीबार कांग्रेसले सरकारमा जान हतार नगर्ने भनेपछि दाहाल–नेपाल समूह झस्किएको छ ।

‘हिजो प्रधानमन्त्रीका लागि देउवालाई समर्थन गर्नेगरी कांग्रेससँग सहमति भएको थियो तर आज भने हतार छैन भन्ने आयो यसले हामीलाई सशंकित बनाएको छ’, दाहाल–नेपाल समूहका एक नेताले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।