काठमाडौँ, ३ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा गरी पार्टीभित्र भाँडभैलो मच्चाउने गतिविधि स्वीकार्य नहुने चेतावनी दिनुभएको छ ।
पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुटगत गतिविधिमा नजान नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । माधवकुमार नेपाल समूहको नाम नलिई उहाँले भन्नुभयो, ‘केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान आग्रह गर्दछु । केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे ।’
पार्टीको विधान, दलसम्बन्धी कानून रहेको भन्दै ओलीले यसबारे सबैको ध्यानाकर्षण गराउन चाहेको बताउनुभयो । पार्टीभित्र अराजकता तथा विधिविधान विपरित एकताविरोधी गतिविधि गर्ने कसैलाई छुट नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन । अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको औचित्य अब पुष्टि हुने बताउनुभयो । “केही मानिसले राष्ट्रिय राजनीति नै होँडलेर असहज अवस्थामा पुर्याए,” उहाँले भन्नुभयो, “एकीकृत पार्टी आ–आफ्नो ठाउँमा फर्किनुपर्ने अवस्था सिर्जना भयो । प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि अब हुन्छ । किनभने संसद् पहिलो दिनदेखि मुद्दा लडेर ल्याएको संसद् आफैँ चल्न नदिने र आफैँ वेलमा गएर नारा लगाउने स्थिति बनेको छ ।”










प्रतिक्रिया दिनुहोस्