राजनीति

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौँ, ३ चैत । आजको प्रतिनिधि सभाको बैैठकले तत्कालीन संविधान सभा सदस्य दिनेशचन्द्र यादवकाे निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएकाे छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवकाे निधनमा प्रस्तुत गरेका शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । यादवको ७५ वर्षकाे उमेरमा गएकाे माघ १ गते निधन भएको थियो ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए । प्रतिनिधि सभाको अर्को बैठक यही चैत ६ गते दिउँसाे १ बजे बस्नेछ ।