काठमाडौँ, ४ चैत । नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बाग्लुङ गलकोट नगरपालिका–२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा मंगलबार काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कामा कमल थापा नाम राखी दोहोरो नागरिकता लिएर दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ परेका सुनारले कमल थापाको नामबाट सरकारी कार्यालयमा नागरिकता पेश गरी सेवा लिएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता पन्तले बताउनुभयो ।
पक्राउ सुनारसँग प्रहरीले नागरिकता दुई थान, राहदानी एक थान, मोबाइल एक थान, जन्मदर्ताको प्रमाणपत्र एक थान, नाता प्रमाणितको सक्कल प्रमाणपत्र एक थान, कर्जा सूचना उपलब्ध गराइदिने बारेको पत्र चार थान, कमल थापाको नाममा बिल दुई थान बरामद गरेको छ । यस्तै कमल थापाको नाममा रहेको विभिन्न बैंकको चेक दुई थान र रबर स्टाम्पसमेत बरामद गरेको ब्यूरोले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्