समाचार

चट्याङको पूर्वानुमान गर्नै कठिन



काठमाडौँ, ५ चैत । सुर्खेतको लेकबेसीँ नगरपालिका–२ र दैलेखको एक घरमा केही दिनअघि परेको चट्याङले घर, गोठ तथा पशुचौपाया जल्यो । त्यसको एक दिनअघि सुर्खेतकै सिम्तागाउँको गोठमा चट्याङ पर्दा ओत लागेका एक व्यक्ति घाइते भए ।

ताप्लेजुङ र सिन्धुलीमा चट्याङ पर्दा एक जना घाइते भए भने धनमाल जलेर  नष्ट  भयो । अहिले पूर्व–मनसुन सुरु भएसँगै मेघ गर्जन र चट्याङ पर्ने  घटना  बढ्दै गएको छ। अझै करिब एक साता बदलीकै  अवस्था  रहने  हुँदा  मेघ  गर्जन र चट्याङ बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै छ । पूर्वमनसुनको  प्रकृतिअनुसार मध्याह्नपछि बदलीसँगै वर्षा हुने र मेघ गर्जनसहित चट्याङ पर्ने  गर्छ । कालो बादल देखिए पनि कडा खालको वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।