Banner News

स्थानीय तहलाई प्रम ओलीको प्रश्न: ७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने ओच्छयाउने हो र ?



काठमाडौँ, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताउनुभएको छ ।

बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए । तर प्रधानमन्त्री ओलीले स्थानीय तहलाई ७० प्रतिशत बजेट दिएर के गर्ने भनी प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने बताउनुभयो । उहाँले बजेट केन्द्रमा नै राख्ने र स्थानीय सरकारलाई नदिने सोचाइ नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने ओच्छयाउने हो र ? त्यसो हो भने प्रदेशले के गर्ने, केन्द्र सरकारले के गर्ने ? त्यस्तो सोच हुनै सक्दैन, थुपारेर राख्ने, फ्रिजमा राखेर के गर्ने ? क्षमता भएको ठाउँमा त खर्च नभएर बेहाल छ भने क्षमता नभएको ठाउँमा झन् गाह्रो हुन्छ ।’

आफूहरुको प्रयासले सामाजिक क्षेत्रमा नेपाल विकसित देशभन्दा पनि माथि पुगेको दावी गर्दै उहाँले नेपालको संसदमा ३३ प्रतिशत र कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको भन्दै उनले यसलाई ५० प्रतिशत पुर्‍याउने दावी गर्नुभयो । मेलम्चीको पानी चैत १५ देखि कामठाडौँमा वितरण सुरु हुने र २ वर्षभित्रै थानकोट नौबिसे सुरुङ निर्माण पूरा गर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।