राजनीति

गगन थापा ‘गुण्डा’हरुको संरक्षक: यस्तो छ प्रमाण



काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा चर्को स्वरमा सुशासन र विधिको बारेमा भाषण गर्दछन् । तर, ब्यवहारमा उनी विवादित ब्यक्तिहरूको घेरामा छन् भन्ने कुरा मिटरब्याजी र जुवा खेलाउनेहरूको खर्चमा हेलिकोप्टर सयर गरेका घटनाले पुष्टि गरेको छ ।

२०७७ फागुन ७ मा बीपी स्मृति भवन नुवाकोटको उद्घाटनका क्रममा गगन थापा मिटरब्याजी र जुवा खेलाउने शैलेश श्रेष्ठ र उनका सहयोगी युवराज घले (सानोभाइ)को खर्चमा हेलिकोप्टरमा गएको खुलेको छ । गगन थापालाई हेलिकोप्टरमा नुवाकोट लगेको तस्बिर शैलेश श्रेष्ठले सामाजिक संजाल फेसबुकमै राखेका छन् । शैलेश श्रेष्ठ र युवराज गुरुङ इन्काउन्टरमा मारिएका गुण्डानाइके कुमार श्रेष्ठ ‘धैंटे’को समूहमा आवद्ध थिए ।

गुण्डानाइके कुमार धैंटेलाई प्रहरीले इन्काउन्टरमा मारेपछि तितरबितर भएको उक्त समूह पुनः सल्बलाउन थालेको प्रहरी श्रोत बताउँछ । घैंटे समूहमा आवद्ध रहेका युवराज घले गुरुडले २०७७ कात्तिक २६ मा डिस्कोमा सेयर मागेको र नदिएपछि हिंडेन डिस्को काठमाडौंका संचालक राज गुरुडमाथि सांघातिक आक्रमण गरेका थिए ।

युवासंघ नेपालका केन्द्रीय सदस्य मीनबहादुर गुरुङ (राज) लाई उक्त समूहले आक्रमण गरेका थिए । घलेले पेस्तोल देखाएर डिस्कोको विनालगानी सेयर मागेका थिए । राजले सेयर नदिने भनेपछि घले समूहले उनीमाथि आक्रमण गरेको थियो । बुलेटप्रुफ ज्याकेट लगाएर हिंड्ने युवराज गुरुङ विनालगानी डिस्कोदेखि विभिन्न ठाउँमा सेयर माग्ने र नदिए आक्रमण गदैआएका छन् । घैटे मारिएपछि उनलाई शैलेश श्रेष्ठले मिटरब्याजमा लगाएको पैसा उठाउनेदेखि अवैध रुपमा संचालन गरेका क्रसर उद्योगमा पनि परिचालन गरेको उजुरी प्रहरीमा परेको जानकारी हुन आएको छ ।

घेटे इन्काउन्टर घटनामा प्रहरीलाई धम्की दिएको आरोपमा युवराज घलेलाई नवाकोटबाट पक्राउ गरी मुद्दा चलाएर तीन बर्ष जेल संजाय भएको थियो । उनीसँग हातहतियार र बुलेटप्रुफ ज्याकेटसमेत फेला परेपछि जेल सजाय भएको थियो । युवराज घलेको काम नै विनालगानी डिस्को र लाउन्जमा सेयर माग्ने र नदिए पेस्तोल देखाएर तर्साउने काम गर्दै आएको पीडितहरू बताउँछन् । अहिले पनि काठमाडौंदेखि नुवाकोट र धादिङका ठेक्कापट्टामा उनले गुण्डागर्दी गरी असुली गर्ने गरेको गुनासो प्राप्त भएको छ ।

गगन थापालाई हेलिकोप्टर सयर गराएर आफ्ना अवैध क्रियाकलाप निर्वाध संचालन गर्दैआएका शैलेश श्रेष्ठ अवैध क्रसर संचालक पनि हुन् । अवैध रुपमा क्रसर संचालनको बिरोध गर्ने नुवाकोटका सन्तोष राई र अनिश राईमाथि खुंडा प्रहार गरेको आरोपमा श्रेष्ठविरुद्ध नुवाकोट प्रहरीमा २०७७ साउन ३ मा उजुरी दर्ता भएको थियो । पीडित पक्षले श्रेष्ठबिरुद्ध उजुरी दर्ता गरेका थिए ।

नुवाकोटको लिखु गाउँपालिका ४ गणखारमा सञ्चालित क्षेत्रपाल क्रसर उद्योगले मेसिना प्रयोग गरी बालुवा झिकिरहेकोले स्थानीयले पनि बालुवा निकाल्नुपर्छ भन्नेमा विवाद चर्केपछि झडप भएको थियो । श्रेष्ठको क्रसर उद्योगले रातको समयमा तादीखोलाबाट एक्स्काभेटर प्रयोग गरेर बालुवा झिक्ने गरेको थियो भने स्थानीयले पनि सोही ठाउँमा हातेऔजार हालेर बालुवा झिकेका थिए । क्रसरवालाले स्थानीयलाई बालुवा झिक्न नदिएपछि विवाद हुँदा शैलेश श्रेष्ठले खुंडाले आक्रमण गर्दा अनिस राई र सन्तोष राई गम्भीर घाइते भएका थिए ।

श्रेष्ठले स्थानीय राजनीतिक पहुँचका आधारमा स्थानीय प्रशासन, प्रहरी र स्थानीय तह, जिल्ला समन्वय समितिलाई प्रभावमा पारी स्काभेटर प्रयोग गरी बालुवा निकाल्ने गरेका छन् । नियम अनुसार क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनुपर्नेमा श्रेष्ठले लिखु गाउँपालिकाका जनप्रतिनिधिलाई प्रभावमा पारी ढुंगा, गिटी र बालुवा निकाल्ने गरेका छन् । स्थानीयलाई खंडाु प्रहार गर्ने श्रेष्ठलाई नुवाकोट कांग्रेसका सभापति जगदिशनरसिंह केसी र गगन थापाको संरक्षण रहेकाले उनीमाथि प्रहरीले उजुरु दर्ता हुँदा पनि नियन्त्रणमा नलिई छाडिदिएको छाडिदिएको थियो ।

ज्वाँई गगन र काकाससुरा जगदिशनरसिंह केसीको संरक्षणमा नै घैंटेका सहयोगी शैलेश श्रेष्ठले अवैध क्रसर संचालन गर्ने गरेको नुवाकोटका कांग्रेसजनले नै भन्दैआएका छन् । मिटरब्याजी, जुवा खेलाउने र अवैध क्रसर संचालन गर्ने श्रेष्ठको प्रहरीका उच्च अधिकारीसँग पनि साँठगाँठ रहेको उनको फेसबुकबाट पनि खुलासा हुन्छ । उनले जो–जो प्रहरीका अधिकारी सरुवा वा बढुवा हुन्छन्, तुरुन्तै फेसबुकमा तस्विर राखेर बधाइ दिइहाल्छन् । कतिपय प्रहरी अधिकारीसँग सँगै बसेको फोटो पनि उनले पोष्ट गर्ने गरेका छन् ।

अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङलाई बढुवा हुनासाथ उनले बधाइ दिएका छन् । प्रहरीका उच्च अधिकारीसँग बसेको फोटो समेत सामाजिक संजालमा राखेर उनले आफ्नो पहुँच देखाउने गरेका छन् । यसैगरी काठमाडौंका टोलटोलमा मिनी क्यासिनो संचालन भइरहेका छन् । कोरोना महामारीले क्यासिनो संचालन हुन सकेका छैनन् । भए पनि नेपालीलाई क्यासिनो प्रवेश निषेध भएकाले घर घरमा जुवा अखडा चल्ने गरेको छ। यसरी जुवा अखडा संचालन गर्नेमा राज भन्ने भुवन श्रेष्ठ अग्रपंक्तिमा रहेको प्रहरी श्रोत बताउँछ ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उनले जुवा अखाडा संचालन गर्दै आएका छन् । भक्तपुर प्रहरीले श्रोत नखुलेको ४२ लाख रुपैयाँसहित २०७७ फागुन २७ मा सुमन घिमिरेलाई नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी बृत्त थिमिको टोलीले मध्यपुरथिमि९३ कौशलटारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट सो रकम बरामद गरेको थियो ।

उक्त रकमको श्रोत घिमिरेले खुलाउन नसकेपछि प्रहरीले उक्त रकम घिमिरेले जुवाबाट जितेको निष्कर्ष निकाली अनुसन्धान अगाडि बढाएको थियो । कोटेश्वर, चक्रपथ, बालाजु, नयाँबजार, विशालबजार, धुम्बाराही, भक्तपुर जस्ता विभिन्न ठाउँमा भुवन श्रेष्ठले जुवा खेलाउने गरेकोउजुरी पनि प्रहरीमा परेको श्रोत बताउँछ ।

श्रेष्ठले प्रहरीसँग सेटिङ गरी जुवा खेलाउने गरेको प्रहरी श्रोत बताउँछ । श्रोतका अनुसार, काठमाडौंमा जुवा खेलाउने समूहमा राजकुमार अधिकारी ‘खरानी’ र भुवन श्रेष्ठ ‘राज’ मुख्य हुन् । खरानीले पनि ठाउँ फेरी फेरी जुवा खेलाउने गरेका छन् । उनले त पिकनिकको बहानामा धुलिखेल, ककनी लगेर पनि जुवा खेलाउँदै आएको श्रोत बताउँछ । यो समाचार आजको सांघु साप्ताहिकमा छ ।