समाचार

नेपालमा मौसम सुधार हुन अझै केही दिन लाग्ने



काठमाडौँ, १४ चैत । नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौं उपत्यकामा बाक्लो तुवालो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ ।

विभागका अनुसार स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको छ ।  यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।