काठमाडौँ, ३ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच देखिएका समस्या समाधान गर्न नसकिने नरहेको उल्लेख गर्दै दुवै देशकीको आपसी समझदारीमा हल गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्यालगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई देशका बीचमा केही इतिहासले बाँकी राखिदिएका, नसुल्झाइदिएका र अधुरै छोडेका समस्याहरु छन् । सीमा लगायतका कतिपय सन्धि सम्झौताहरुमा नमिलेका विषयहरु छन्, जसलाई उच्च विश्वासका साथ हामीले छलफल गरेर अगाडि बढाउन सक्छौं । पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ भयो र दुवै देश आपसी विश्वासका साथ अगाडि बढेर जान सक्यौं भने मलाइ लाग्छ, इतिहासले अधुरो छोडेका यी समस्याहरुलाई समाधान गर्न कुनै गाह्रो छैन ।’
नेपालले भारतसँग भएका कुनैपनि समस्या समाधान गर्न सकिँदैन भन्ने नठानेको परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘भारतसँग छलफलद्वारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनै पनि विषय छन् भन्ने हामी ठान्दैनौं । किनभने नेपाल र भारत प्रतिस्पर्धी होइनन् । नेपाल र भारत मित्रहरु हुन् । मित्रहरुका बीचमा समस्या छन् भने समाधान गर्न कुनैपनि गाह्रो हुँदैन ।’










प्रतिक्रिया दिनुहोस्