राजनीति

कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरण गर्न समय थप



काठमाडौँ, ७ बैशाख । नेपाली कांग्रेसले एक साताभित्र क्रियाशील सदयस्ता वितरण तथा नवीकरण गरिसक्न निर्देशन दिएको छ । ७२ जिल्लामा हिजोआज क्रियाशील वितरण र नवीकरण गरेर विवरण सफ्टवेरमा इन्ट्री गर्ने काम भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

वैशाख १५ गते राति १२ बजेभित्र क्रियाशील सदस्यता वितरण गरेर त्यसको विवरण सफ्टवेयरमा इन्ट्री गरिसक्न कांग्रेस केन्द्रीय समिति बैठकले निर्देशन दिएको हो । वैशाख १५ गते राति १२ बजेपछि क्रियाशीलको विवरण सफ्टवेयरमा इन्ट्री गर्न नमिल्ने व्यवस्था मिलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाको हकमा केन्द्रीय कार्यालयबाट वैशाख १५ भित्र क्रियाशील सदस्यता फारम जिल्लामा पठाइसक्नु पर्ने पनि समय तोकिएको छ ।

तर कांग्रेसले चार जिल्लालाई भने वैशाख मसान्तसम्म क्रियाशील सदस्यताको काम गर्ने समय दिएको छ । समायोजन विवाद देखिएका सिन्धुपाल्चोक र सप्तरीमा वैशाखभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्नेछ । साथै बारा र सोलुखुम्बुमा केही दिनअघि मात्रै क्रियाशील बाँड्न थालेकाले वैशाखसम्म समय दिइएको हो ।

कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या १० लाख कटाउने भनेको छ । २०७२ सालमा १३ औं महाधिवेशन हुँदा चार लाख ८० हजार हाराहारीमा कांग्रेस क्रियाशील सदस्य थिए । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग मिलेपछि उक्त पार्टीबाट आएका २५ हजार बढीलाई क्रियाशील सदस्यता दिने कांग्रेसको तयारी छ । राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सहमहामन्त्री सुनिलबहादुर थापा पक्षका नेतारकार्यकर्तालाई पनि क्रियाशील सदस्यता दिने कांग्रेसको तयारी छ ।

कांग्रेसले क्रियाशीलको विवरण, सदस्यता शुल्क र लेवीलगायत कागजात वैशाख १७ भित्र केन्द्रमा पठाउन भनेको छ । क्रियाशील सदस्यको विवरण केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटबाट सार्वजनिक गर्नेछ ।
कांग्रेसले भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने बताएको छ ।