रुपन्देही, ११ बैशाख । नेकपा एमालेले लुम्बिनी प्रदेशबाट माओवादी केन्द्र छाडेर आएका करिब आधा दर्जन नेताहरूलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ ।
आफ्नै पार्टीमा माधव नेपाल समूहले केही जिल्लामा समानान्तर कमिटी गठन गरेको र माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा गएका नेताहरुलाई बढी आलोचनाको विषय बनाएकाले पहिलेदेखि नै अग्रपंक्तिमा रहेर काम गरेका नेताहरुलाई यस्तो जिम्मेवारी दिइएको बताइएको छ ।
एमालेले अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित हाल सो पदमुक्त भएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पार्टीको महत्वपूर्ण मानिने मोर्चा संगठनको इन्चार्ज बनाइएको छ भने खानेपानी मन्त्री समेत रहेका प्युठानका पुराना नेता मणिचन्द्र थापालाई लुम्बिनी प्रदेशको सह-इन्चार्ज र खानेपानी तथा सरसफाइ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
त्यसैगरी कपिलवस्तुका पुराना नेता गिरिधारीलाल न्यौपानेलाई लुम्बिनी प्रदेशको सह-इन्चार्ज, रुपन्देहीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भई हाल पदमुक्त भएका नेता दधिराम न्यौपानेलाई रुपन्देहीको इन्चार्ज, अर्घाखाँचीबाट राष्ट्रिय सभा सदस्य भई हाल पदमुक्त भएका नेता चन्द्रबहादुर खड्कालाई अर्घाखाँची इन्चार्ज, गुल्मीबाट लुम्बिनी प्रदेश सभा सदस्य भई हाल पदमुक्त भएका दिनेश पन्थीलाई गुल्मी इन्चार्ज र नविन रोकालाई रोल्पाको इन्चार्ज बनाइएको छ ।
अन्य पार्टी छोडेर आउनेहरूलाई विगतमा यति महत्वपूर्ण जिम्मेवारी दिने प्रचलन नभए पनि यसपटक एमालेले माओवादी केन्द्र छोडेर एमाले प्रवेश गर्नेहरूलाई महत्वपूर्ण भूमिकासहितको जिम्मेवारी दिइएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्