काठमाडौँ, १२ वैशाख । सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउँदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्ने बालिकाको शनिवार अचानक मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका नयाँमिलमा रहेको प्यारामाउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको विद्यालयले जनाएको छ । विद्यालयका सह प्राचार्य लीलाधर किराँतले बालिका बिरामी भएपछि शनिवार बिहानै अभिभावक बोलाएर जिम्मा लगाएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको खबर पाएको बताए ।
बालिकाका आफन्त भास्कर भण्डारीले बालिकालाई सिकिस्त अवस्थामा विद्यालयबाट निकालेर नजिकैको क्रिमसन अस्पताल लैजादै गर्दा मृत्यु भएको बताए । ‘हामीले खबर पाउदा बालिकाको अवस्था निकै गम्भिर थियो । उनको शरीर निकै तातेको थियो । तत्कालै नजिकैको अस्पताल पुर्याउँदा डाक्टरले उनको मृत्यु भइसकेको बताए’ भण्डारीले भने । अस्पताल ल्याउनु अघि नै बालिकाको मृत्यु भइसकेको क्रिमसन अस्पतालका चिकित्सकले बताएका छन । ती बालिकालाई उच्च ज्वरो आएको बताइएको छ । तर मृत्युको कारण भने पत्ता लगिसकेको छैन । कोरोना परिक्षणका लागि स्वाब निकालिएको अस्पतालले जनाएको छ ।
ती बालिका स्कुलको छात्रावासमा बसेर परीक्षा दिइरहेकी थिइन् । बालिकासँगै छात्रावासमा बस्ने अन्य बालबालिकाका अनुसार उनलाई दुइ दिन देखि ज्वरो आएको थियो । तर स्कुलले उपचारका लागि अस्पताल लगेन । गए रातीदेखि ती बालिकाले आफुलाई निकै असहज महसुस भएको साथीहरुलाई बताएकी थिइन् । बिहान पख अन्य बालबालिकाहरूले होस्टेलका कर्मचारी र शिक्षकसँग उपचारका लागि लैजान कर गरेपछि बल्ल स्कुलले अभिभावक बोलाएर ती बालिकालाई जिम्मा लगाएको थियो । बालिकाका आफन्त भण्डारीले पनि परीक्षा संचालन गर्ने निहुँमा विद्यालयले बिरामी बालिकाको उपचार नगरी राखेको र परिवारलाई समेत समयमै खबर नगरेको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्