काठमाडौँ, १ जेठ । काठमाडौँ र ललितपुर महानगरपालिकाले गत २५ चैतदेखि १५ वैशाखसम्म भेरोसेल (चिनियाँ) खोपको पहिलो डोज लिएका नागरिकलाई दोस्रो डोज लगाउने मिति तोकेका छन् ।
काठमाडौँ महानगरपालिकाले २५ देखि २८ चैतसम्म पहिलो डोज लगाएकालाई २ जेठमा तथा २९ र ३० चैतमा पहिलो डोज लिएकालाई ३ जेठमा दोस्रो डोज लगाइनेछ । त्यस्तै, ३१ चैत र २ वैशाखमा पहिलो खोप लगाएकालाई ४ जेठमा तथा ३ र ४ वैशाखमा पहिलो खोप लगाएकालाई ५ जेठमा दोस्रो डोज दिइने छ ।
५ र ६ वैशाखमा पहिलो डोज लिएकालाई ६ जेठमा, ७ देखि १० वैशाखसम्म पहिलो खोप लगाएकालाई ७ जेठमा, ११ र १२ वैशाखमा पहिलो डोज लिएकालाई ८ जेठमा तथा १३, १४ र १५ वैशाखमा पहिलो खोप लिएकालाई क्रमशः ९, १० र ११ जेठमा दोस्रो डोज दिइनेछ ।
२५ चैतपछि पहिलो डोज लगाए पनि संक्रमण पुष्टि भएका तथा अहिले लक्षण देखिएका व्यक्तिलाई महानगरले दोस्रो डोजको अभियानमा सहभागी नगराउने भएको छ ।
त्यस्तै ललितपुर महानगरपालिकाले पनि दोस्रो डोज लगाउने मिति तोकेको छ । जिल्ला खोप समन्वय तथा अनुगमन समितिको शुक्रबारको निर्णयअनुसार २५ देखि २८ चैतसम्म पहिलो डोज लिएकालाई ६ जेठमा दोस्रो डोज दिइनेछ ।
त्यस्तै, २९ देखि ३१ चैतसम्म पहिलो डोज लिएकालाई ७ जेठमा दोस्रो डोज दिइनेछ । त्यस्तै, १ देखि ४ वैशाखसम्म पहिलो डोज लिएकालाई ९ जेठमा, ५ देखि ९ वैशाखसम्म पहिलो डोज लिएकालाई १० जेठमा, १० देखि १३ जेठसम्म पहिलो डोज लिएकालाई ११ जेठमा, १४ वैशाखमा पहिलो डोज लिएकालाई १२ जेठ र १५ वैशाखमा पहिलो डोज लिएकालाई १३ जेठमा दोस्रो खोप दिइनेछ ।
खोप लगाउन बिहान १० देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड र परिचय खुल्ने परिचयपत्र आवश्यक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्