समाचार

७४ जिल्लामा निषेधाज्ञा



काठमाडौँ, ३ जेठ । देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मनाङ, खोटाङ र तेह्रथुमबाहेक अरु जिल्लामा निषेधाज्ञा छ । ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । मुस्ताङ, सप्तरी, धनकुटा र ताप्लेजुङमा आंशिक तथा अरु जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको हो । काभ्रेमा दोस्रोपटक म्याद थप गरी निषेधाज्ञा लम्बिएको छ । गएराति १२ बजेदेखि आउँदो जेठ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

काठमाण्डौ उपत्यकाका तीन जिल्लामा आउँदो १३ गतेसम्म निषेधाज्ञा छ । गएको बैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमण बढेसँगै जिल्ला जिल्लामा लागू हुँदै गएको हो । निषेधाज्ञाका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।