काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन् ।
प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । त्यसको भोलिपल्ट मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन् । उनीहरूले सर्वोच्च अदालतमा कसरी प्रस्तुत हुने भनेर कानुनविद्सँग छलफल गर्ने भएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताबीच छलफल भएको थियो । संसदीय प्रणालीअनुसारका प्रस्ताव अस्वीकृत हुँदै जाँदा संविधान र व्यवस्थामाथि नै खतरा बढेकाले तिनको रक्षाका लागि न्यायिक लडाइँ कसरी अझ व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र त्यसलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय संविधानविपरीत भएको दाबीसहित १ सय ४६ जना सांसद सोमबार सर्वोच्च अदालत पुगेका थिए। पार्टी सभापति देउवाको नेतृत्वमा अदालत गएको कांग्रेसले आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बुधबार बिहान पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्