समाचार

आजको मौसम पूर्वानुमान



काठमाडौँ, १४ जेठ । हाल चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई गहिरो न्यून चापीय क्षेत्रको रुपमा परिणत भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ ।

उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानमा वागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उक्त गहिरो न्यून चापीय क्षेत्रको असर आउँदा केही दिनमा  नेपालको भू–भागमा पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन मौसमविद्हरुले आग्रह गरेका छन् ।

त्यस्तै उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षा तथा उच्च बेगको हावाहुरीसमेत आउनसक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण नगर्नु र नगराउनु महाशाखाले आग्रह गरेको छ ।