Banner News

संसद विघटनविरुद्धको संवैधानिक इजलासको सुनुवाई स्थगित



काठमाडौँ, १४ जेठ । प्रतिनिधिसभा विघटन र धारा ७६ (५) बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि सुनुवाई स्थगित गरिएको हो । नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।

बन्दीले बमकुमार श्रेष्ठले इजलास छाड्दा अदालतको मान बढ्ने भन्दै कुरा उठाएपछि प्रधानन्यायाधीशले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने बताउनुभएको थियो । विवादकै बीच शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिनुभएको थियो । महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएर उठ्नुपछि केहीबेर विवाद भएको थियो । बडालले बन्दीलाई बहस गर्न दिनुनहुने बताउनुभएको थियो ।

विवादकै बीच प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दा हेर्दैमा रहेको भन्दै आइतबारसम्मलाई स्थगित गर्नुभएको हो ।