समाचार

आजको मौसम



काठमाडौँ, १७ जेठ । नेपालमा हाल पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विज्ञानका अनुसार अहिले प्रदेश १ मा पूर्ण बदली र देशका अन्य भू–भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अपरान्ह्पछि काठमाडौँ उपत्याकामा आज वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा आज दिउँसो अधिकतम तापक्रम २८–३० डिग्री सेल्सियससम्म पुग्ने छ । काठमाडौंको न्यूनतम तापक्रम १९.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।