काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा विमलेन्द्र निधि पुगे । जनकपुरमा भएको संघको महाधिवेशनबाट पार्टी नेता बिपी कोइरालाको प्रस्तावमै निधि संघको अध्यक्ष बनेको कांग्रेस नेताहरू बताउँछन् ।
संघ हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका देउवा र निधि सुरुमा कांग्रेसभित्रको फरक गुटमा थिए । देउवा कोइराला गुटसँग नजिक थिए भने निधि कृष्णप्रसाद भट्टराईसँग । तर पछि परिस्थितिले दुवै नेता एउटै समूहमा सहभागी भए ।
कांग्रेसको २०५३ मा भएको महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध चिरञ्जीवी वाग्लेले सभापतिमा उम्मेदवारी दिए । २०५१ मै कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूको प्रतिनिधित्व गर्दै कांग्रेसका ३६ सांसदले पार्टी नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार गिराउन भूमिका खेलेका थिए । २०५७ को पोखरा महाधिवेशनमा फेरि गिरिजाप्रसाद कोइराला नै उम्मेदवार बन्ने भए । कोइरालाविरुद्ध भट्टराई पक्षबाट रामचन्द्र पौडेललाई सभापतिको प्रत्याशी बन्न आग्रह गरिएको बताउँदै निकट एक नेताले भने, ‘कोइरालाविरुद्ध उहाँ उम्मेदवार बन्न तयार नभएपछि शेरबहादुर देउवालाई हाम्रो समूहबाट सभापतिमा उम्मेदवार बनाएका हौं । त्यसपछि देउवा र निधि एउटै समूहमा मात्र होइन, एकअर्काको परिपूरकका रुपमा काम गर्दै आउनुभएको छ ।’
देउवालाई सभापतिदेखि अहिलेको अवस्थामा पुर्याउन र निधिलाई उपसभापतिसम्मको जिम्मेवारीमा पु¥याउन दुवैको महत्वपूर्ण सहयोग र भूमिका रहेको उनले बताए । पार्टीको १३औं महाधिवेशनपछि भने दुई नेताबीचको सम्बन्धमा बिस्तारै चिसोपन आउन थालेको जानकारी दिँदै निकट सदस्यले भने, ‘पुष्पकमल दाहाल नेतृत्व सरकारमा निधिजी उपप्रधान तथा गृहमन्त्री बन्नुभयो । त्यस बेला नेपाल प्रहरीको प्रमुख नियुक्तिलाई लिएर दुई नेताबीच करिबकरिब सम्बन्ध विच्छेदकै अवस्थामा पुगेको थियो ।’










प्रतिक्रिया दिनुहोस्