काठमाडौँ, ११ असार । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले सरकारविरुद्धको लागि बनेको विपक्षी गठबन्धन पञ्चायत तथ राजतन्त्र फर्काउने दुष्कर्म गर्दै गरेको बताउनुभएको छ ।
विपक्षी गठबन्धनले वर्तमान लोकतन्त्रलाई बचाई मुलुकको सुदृढिकरणमा लाग्नेभन्दा पनि पद र कुर्सीको लागि पञ्चायत तथा राजतन्त्री शैली अपनाएको बताउनुभयो । वर्तमान समयमा दलीय व्यवस्था रहेको उल्लेख गर्दै उहाँले दलीय व्यवस्थालाई ध्वस्त बनाई पञ्चायत र राजतन्त्रको शैलीमा अगाडी बढ्न नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, एमालेबाट कारवाही पर्नुभएका माधवकुमार नेपाल, जनमोर्चासहितको विपक्षी गठबन्धन लागि परेको भन्दै आक्रोस जनाउनुभयो ।
संविधानको धार ७६ को ५ बमोजिम प्रधानमन्त्री बन्न दलको निर्णय आवश्यक नपर्ने तर दलको समर्थन भने आवश्यक रहेको उल्लेख गर्दै उहाँले विपक्षी गठबन्धन दलीय व्यवस्थालाई लत्याउँदै निर्दलीय अभ्यासमा जान खोजेको बताउनुभयो । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतका नेताहरु राजतन्त्र फर्काई निर्देलीय व्यवस्थामा जान खोजेको आरोप लगाउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा आज भन्नुभएको छ, ‘विपक्षी गठवन्धन पंचायत र राजतन्त्र तिर । संविधानको धारा ७६ (५) सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ । बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन सक्दैन । यद्यपि विपक्षी गठवन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठवन्धनको नेताहरु शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरुले
पंचायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होशियार बनौं ।’










प्रतिक्रिया दिनुहोस्