कञ्चनपुर, १२ असार । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आईडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बिर राखेर नक्कली फेसबुक आईडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।
“नक्कली आईडी बनाएर धेरैजनासँग रकम माग गरेको पाइएको छ,” प्रजिअ महतोले भने, “पैसा माग गरेको कुरा धेरैजनाले स्क्रिन सट गरेर मलाई पठाएका छन्, आज बिहान खोल्दा खुलेको छैन, डिएक्टिभ भएजस्तो छ ।” फेक आईडी बनाई अवैध रुपमा रकम माग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी हाल्न लागेको उनले बताए ।
“अज्ञात व्यक्तिले मेरो तस्बिर राखी नक्कली फेसबुक एकाउन्ट खोलेको देखिन्छ । फेक आईडीबाट विभिन्न व्यक्तिबाट रकम माग गरेको समेत जानकारीमा आयो,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “यस आईडीलाई ब्लक गर्नहुन, फ्रेन्ड रिक्वेस्ट आएमा नगर्न हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्न हुन अनुरोध गर्दछु । यस एकाउन्ट सम्बन्धमा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छु ।”
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले नक्कली (फेक) फेसबुक आईडी कुन ठाउँबाट जेनेरेट भएको भन्ने कुरा जिल्ला लेबलबाट हेर्न सम्भव नहुने बताए । “फेक फेसबुक आईडी बनाएर धेरैजनालाई भिक्टिम बनाएको पाइएको छ,” उनले भने, “विदेशबाट पनि जेनेरेट भएको हुनसक्छ । यस्तो कार्य साइबर ब्युरोले हेर्ने गरेको छ ।”
साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुने व्यवस्था रहेको छ । सो ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । रासस










प्रतिक्रिया दिनुहोस्