राजनीति

दैनिक ६४ आन्तरिक उडान बिहीबारदेखि पुनः शुरु हुने



काठमाडौँ, १३ असार । निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान बिहीबारदेखि पुनः शुरु हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा आन्तरिक उडान भर्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । प्राधिकरणका अनुसार बिहीबारबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुने छ ।

नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उडान भर्नेमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन, नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुने छ । कुल उडान क्षमताको ५० प्रतिशतमा नबढने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार प्राधिकरणले आन्तरिक उडानको तयारी अघि बढाएको हो ।

यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ । अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्ने भएका छन ।