काठमाडौँ, १४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश १ का केही स्थानमा बिहान वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसैबीच, काठमाडौंमा आज दिनभर मौसममा बदली रहने छ । त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्